identity of kirat existence
refer this site +

अनिश्चितकालीन बन्द स्थगित... लिम्बुवान कार्यकर्ताको मृत्यु...

kirats.com
 
तस्वीरहरु
 
प्रश्न एक उत्तर अनेक
लिम्बुवान स्वायत्तताको माग सही छ ?
 
 
मिक्तोक
 
 
दस्तावेज
 
पुस्तक
अध्यक्षात्मक प्रणालीतर्फ आदिवासी जनजाति महासंघ
  विचार  

जातीय स्वायत्तताको खोजी
नवीन वनेम

 
 


बेगल मौलिक पहिचान र चिनारी भएको लिम्बु आदिवासी किराती जाति हो । मौलिक भाषा, धर्म, संस्कृति, रीतिरिवाज, साहित्य, लिपि र भेषभूषा भएका लिम्बुहरु नेपालको पल्लोकिरात वा अरुण पूर्वको पहाडी भू-भागमा बसोबास गर्दछन् । नेपालमा ३५ लाख नौ हजार तीन सय ८९ जनसंख्या भएको यो जाति भारत, बेलायत, हङकङ, ब्रुनाई, सिंगापुरलगायत विभिन्न ठाउँहरुमा छरिएर रहेका छन् । आफ्नै सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिकस्वरुप बोकेको यो जाति हाल अस्तित्व साथै हक अधिकारको लागि प्रयासरत छ । मुन्धुममा आधारित किरात धर्म मौलिक धर्म हो भने भाषा, लिपि, साहित्य र संस्कृति हाक्पारे, पालाम, ख्याली, मेरिङ साम्लो, तुम्याहाङ साम्लो, मिक्वा साम्लो, मेखिम साम्लो, केलाङ आदि चिनारीका माध्यमहरु हुन् । त्यस्तै, धार्मिक अनुष्ठान सम्पन्न गर्ने मुख्यतः फेदाङमा, साम्बा, येबा तथा सेवासाबाहरु हुने गर्दछन् ।

लिम्बु जातिले आफ्नो अस्तित्वको निमित्त ऐतिहासिक यात्रा तय गरेको पाइन्छ । मानवशास्त्री र इतिहासविद्हरुका अनुसार मानव एक चलायमान जाति हो । यिनीहरु एक ठाउँबाट अर्को ठाउँमा अस्तित्वको निमित्त संघर्ष गर्दै, घुमन्ते फिरन्ते अवस्था पार गर्दै, पशुपालन र कृषियुग हुँदै आधुनिक युगमा प्रवेश गरेका हुन् । यही क्रममा लिम्बुहरु चीनको युआन प्रान्तको शिचुवान प्रदेशमा बसोबास गर्ने शान मकवान जातिका थिए, र तिनै जातिका मानिसहरु थाइलैण्ड, भियतनाम हुँदै बर्माको उत्तरी भागमा बर्साईं सरे, जुन ठाउँलाई मङकवान भनिन्छ । बर्माको मेकङ नदी आसपासको उपत्यकामा विरोधीहरुसँगको भीषण युद्धमा धेरै जिउधनको नोक्सानी व्यहोरेपछि बाँकी दश जना युद्ध सरदारहरु आसामको कमरुप हुँदै आजको किरात प्रदेशमा बसोबास गर्न थालेका हुन् । तथापि, यिनीहरु चिनियाँ मूलका नभएर भोट-बर्मेली परिवारका सबैभन्दा पूराना जातिहरु हुन् । उनीहरु मंगोलियन नश्लका भएपनि चिनियाँ जातिसँग नजिकको सम्बन्ध छैन । इण्डो-मंगोलोइड नश्लका किरातीहरुको आगमन नेपालमा उत्तर तथा उत्तर-पूर्वी दिशाबाट भएको र अन्य जनजाति वा सम्प्रदायभन्दा पहिले आएका थिए । किरातीहरुले पश्चिममा काठमाण्डौ उपत्यकासम्म आर्थिक, सामाजिक गतिविधिहरु सञ्चालन गरेका थिए । विशेषतः पूर्वी पहाडी इलाकाहरु तामाकोशी, अरुणकोशी, तमोर उपत्यकाहरुमा भस्मे फाँडी मलिलो जग्गाहरुमा खेतीपाती गर्थे । अन्नपातका बीउविजन, भैसी, सुँगुर र अन्य जनावरहरु घरेलुकरण गर्दै कृषियुगमा प्रवेश गरेका थिए । काठमाण्डौको गोकर्ण केन्द्र बनाई उपत्यकाभित्र पनि खेतीपाती गरेका थिए । यही समयमा काठमाण्डौ उपत्यकामा खसहरु गाई, बाख्रा, भेडासहित घुमन्ते, फिरन्ते अवस्थामा मातातीर्थ केन्द्रित भइरहने गर्थे, जो इण्डो-आर्यन भाषा बोल्दथे । उपत्यकाभित्र किराती गोत्रका भोट बर्मेली भाषा बोल्नेहरु र खसहरुबीच सामाजिक सम्बन्ध सुमधुर थियो । खसहरु -गोपालवंशी पनि भनिन्छ)ले किरातीसँग खेतीपाती गर्न सिकेका थिए । यसरी, उपत्यकाभित्र दुबै जातिले खेतीपाती र जनावरहरु घरेलुकरण गरेकाले पहिलोपटक नयाँ किसिमको राजनीतिक, आर्थिक, सामाजिक व्यवस्था सुरुवात भएको हो ।

यहीक्रममा गोपाल वंशीअनुसार ३२ पुस्ता, कर्कपेट्रिक वंशावलीअनुसार २७ पुस्ता, डेनियल राइट वंशावलीअनुसार २९ पुस्ता, इतिहास प्रकाशनअनुसार २५ पुस्ता, प्रेमबहादर माबोहाङका अनुसार ३३ पुस्तासम्म किराती राजाहरुले काठमाण्डौ उपत्यकामा शासन गरेका थिए । बौद्ध दर्शनबाट किराती राजाहरु प्रभावित भएका थिए । सातौं किराती राजा जितेदास्तीको पालामा स्वयम्भु चैत्य र मञ्जुश्री चैत्यको दर्शन गर्न गौतम बुद्ध आई १३५० शिष्यहरु बनाएको भनिन्छ । किरात वंशलाई लिच्छवीहरुले धपाएपछि पूर्वतिर लागेका हुन् । यसरी पूर्व लाग्नेहरु राई, लिम्बु, याक्खा, धिमाल, मेचे, कोचे, सुनुवार आदि हुन् । त्यसताका काठमाण्डौ एउटै किरात प्रदेश थियो । वल्लोकिरात, माझकिरात, पल्लोकिरात भनि भू-भाग विभाजन गर्ने काम गोरखा राज्यको विस्तार क्रममा भएको पाइन्छ । किराती शब्द समूहवाचक वा राजकीय हो भने विभिन्न मूल्य, मान्यता, भौगोलिक, सांस्कृतिक स्थिति, भाषिकरुपले गर्दा खम्बु, लिम्बु, याक्खा, सुनुवार, जिरेल, सुरेल, मेचे, कोचे र धिमालको रुपमा विभाजित भएका हुन् । तर, धेरै सामाजिक मूल्य, मान्यतामा सामिप्यता रहेको छ ।
यसरी, अरुणपूर्व रहेका किरातीहरुमध्ये लिम्बु जातिहरुमा आफ्नो छुट्टै सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक संरचना रहन गएको हो । उनीहरुमा बौद्ध धर्मदर्शनले कुनै प्रभाव नपारेको पाइन्छ, किनकि आफ्नै मुन्धुम दर्शनबाट निर्देशित सामाजिक अवस्था र स्वायत्त कृषि प्रणाली हुनुको साथै आपुंगी राजनीतिक प्रणाली वा विभिन्न सरदारी प्रथा वा प्रणाली रहेको थियो । जसमध्ये विजयपुर गढी सबभन्दा शक्तिशालीरुपमा रहेको थियो । विभिन्न समयमा विभिन्न थुमका प्रमुखहरुलाई लालमोहर प्रदान गरेको पनि पाइन्छ । तमरखोला, माइखोला, मेवाखोला, याङरुप, आठराय, पान्थर, फेदाप, चारखाल, चौबीस, छथरजस्ता थुमहरुले विजयपुरमा सम्बन्ध राखी आफ्ना थुमहरुमा आपुंगी राज गरेको र सम्बन्धन प्राप्तिको लालमोहर लिने गरेको र लिम्बुवान संघीय प्रणालीअनुरुप सञ्चालन भएको पाइन्छ । लिम्बुवानमा धेरै समयसम्म उत्तरको भोट क्षेत्रबाट र पूर्वको सिक्किमबाट कयौंपटक आक्रमण भएको थियो, फलतः सामाजिक, आर्थिक, राजनीतिक अवस्था कमजोर हुन पुग्यो । भनिन्छ, भोटबाट आउने लामाहरुले किराती पुरुषहरुलाई खोजीखोजी मार्ने गर्दथे, र धेरै समयसम्म किराती नारीहरुले आफ्ना पुरुषहरुलाई लुकाएर बचाएका हुन् । लामाहरुको भेषमा डमरु र घण्टी बजाउँदै घरघर चहारेको भन्ने मत रहेको छ । त्यस्तै, सिक्किमका लाप्चाहरुले पनि धेरैपटक आक्रमण गरेको पाइन्छ । तथापि, समयसमयमा भोटसँग व्यापारिक र वैवाहिक सम्बन्धहरु भएका थिए । त्यसताका वस्तु विनिमय प्रणाली थियो । लिम्बुवानमा कपासबाट धागो बनाई लुगा बनाउने, प्रशस्त कृषि उत्पादन गर्ने र पशुपालनजस्ता मुख्य आर्थिक गतिविधिहरु हुन्थे ।

लिम्बुवानको सामाजिक व्यवस्था पूर्णतः मौलिक थियो । मुन्धुम मुख्य स्रोत वा अलिखित कानुनसरह थियो । यसलाई येत्हाङहरुले समयसमयमा परिभाषित गरेको अनुमान छ । येत्हाङहरु को थिए भन्ने प्रश्न रहेपनि सोधुङगेन लेप्मुहाङ, कान्देनहाङ, माबोहाङ, सिरीजंगाहाङ, मुहिगुम अङसीमाङ फाल्गुनन्द लिङ्देन आदि किरात दर्शनका मुख्य प्रवर्तकहरु हुन् । सामाजिक व्यवस्थापनका निमित्त गरिने सम्मान, पुरस्कार, दण्ड, सजाय, प्राकृतिक श्रोत साधनको व्यवस्थापन, थिति थाम्ने, नीति, नियम निर्माण गर्ने कार्य तुम्याहाङहरुको निर्णयमा आधारित हुन्थ्यो । यदि एक जना तुम्याहाङले अस्वीकार गरेमा निर्णय असम्भव हुन्थ्यो ।

इशाको एघारौं शताब्दीमा लिच्छवी राज्य टुक्रेर धेरै राज्यहरु बन्न थाले । चौधौं शताब्दीमा मल्लहरुले काठमाण्डौ कब्जा गरे । यहीबेला मल्ल राजा जयस्थिति मल्लले हिन्दू दर्शनबाट प्रभावित भई समाजलाई पेशागत आधारमा ब्राम्हण, क्षेत्री, वैश्य र शुद्र गरी चार जातमा विभाजन गरे । चौधौं शताब्दीमा भारतमार् इश्लाम धर्मको जेहादका कारण पहिलोपटक ब्राम्हण, ठकुरीहरु नेपालको पश्चिम कर्णाली इलाकाहरुमा खसहरुसँग शरण लिई लुक्न थाले । त्यस्तै, द्रव्य शाहको राज्य प्राप्तिसँगै गोरखा राज्यको स्थापना भयो, र काठमाण्डौ उपत्यकाको शासक भएपश्चात् चौबीसे बाइसे र किरात प्रदेशहरुको समेत महाराजा हुने चाहनाले क्रमशः मकवानपुर हुँदै बाइसे, चौबीसे, चौदण्डी, विजयपुर हात पारेपछि लिम्बुवान पनि हात पारे । कतिपय थुमहरुले सम्झौता गरे भने कयौंपटक लिम्बुवानसँग हार खानु पर्यो । यही क्रममा चैनपुरमा गोरखासँग भीषण लडाइँ भएको थियो ।

लिम्बुवानका सेनापति काङसोरे थिए भने गोरखातर्फा रघुवीर राणा थिए । रघुवीर राणा र काङसोरेबीच भएको लडाईंमा रघुवीर मारिए । अन्त्यमा, हारजीत नभएपछि सम्पूर्ण सेनाहरु बिनाहतियार उपस्थित भए । तर, तत्कालै गोरखा सेनाहरुले बालुवामा लुकाई राखेको तरवार झिकी काङसोरे मारियो । र, पुनः भीषण युद्ध भयो । यसरी, विभिन्न कारणवश वि.सं. १७७४ मा लिम्बुवान नेपालमा गाभियो । त्यसताका हिन्दूकरण नमानी आफ्नै येत्हाङ थितिमा चल्ने आधारमा किपट प्रणालीअन्तर्गत सम्झौता भएको थियो । जसमा लिम्बुवान भूमिमाथि लिम्बु जातिको मात्र अधिकार रहेको थियो । उनीहरुले दक्षिणपूर्वी र पूर्वी भागबाट हुने आक्रमणको प्रतिरोध गर्नुपर्ने शर्तमा लिम्बुवान गाभिएको थियो । न्यूनरुपमा कर शाहवंशी राजालाई बुझाउनु पर्दथ्यो । तत्पश्चात् लिम्बुवानमा पहिलोपटक बाहुन, क्षेत्री, मगर, गुरुङहरु चौबीसे, गोरखा, मकवानपुरबाट बसाईं सरे, र नयाँ सामाजिक संरचना सुरुवात भयो । विभिन्न प्रलोभनहरु देखाई लिम्बुवान समाजलाई टुक्राउने क्रम जारी रह्यो, लिम्बुवानमा सुब्बा नियुक्ति गर्ने प्रचलन ल्याइयो । जसमा ६० मुरी फल्ने जग्गा रैकर गराएपछि सुब्बा नियुक्त गरिन्थ्यो, र सुब्बाहरुले आफ्नो रैती राखी तिरो कर उठाउने प्रचलन सुरुवात भयो ।
यसरी धेरै लिम्बुहरु सुब्बा हुने सुरमा आफ्नो किपट भूमि रैकर बनाई गुमाए । लिम्बुवानमा पछि पनि सिक्किमबाट आक्रमण भइरह्यो । त्यहीबेला पान्थरका ५२ सुब्बाहरु योङहाङ सुब्बाको नेतृत्वमा काठमाण्डौ आई रणबहादुर शाहसँग युद्ध गर्न हतियार माग गरे । रणबहादुरले ढाल, तरवार, त्रिशुल, नगरा, निशान, बन्दुक, शंख, नरसिंगा मौलो थापी दसैंको नवमीको दिन बलि चढाउनु पर्ने शर्तमा दिई पठाए । यो पहिलोपटकको सांस्कृतिक अतिक्रमण थियो । दसैंको कर पनि असुल्न थालियो । मौलो काटेको पञ्जाको निशानको लागि लिम्बुवानमा धेरैपटक तिलिंगा आतंक मच्चाइयो । वि.सं. १९१० मा जंगबहादुर राणाद्वारा ल्याइएको मुलुकी ऐनमा अपमानजनकरुपमा नमासिन्या मतवाली लिम्बु जाति भन्दै व्याख्या गरिएको र गाई हत्या मानव हत्यासरह अपराध हुने कानुन ल्याइएपश्चात् नेपाली समाजमा असमानपूर्ण व्यवहार जातको आधारमा गरिन थालियो । छथर थुमका आठ पहरिया राईहरुले दसैं नमान्ने भनी प्रतिरोध गरे, र विद्रोह गरेपछि रामलीहाङ र दीक्षमा मारिए । २००७ सालमा जहानियाँ राणा शासनविरुद्धको जनक्रान्तिमा जि.वि. याक्थुङबा, बि. बि. चेम्जोङ र रामप्रसाद राईजस्ता जनसेनानीहरुले क्रान्तिको अगुवाई गरेका थिए । तर, उनीहरुलाई केवल सत्ता हत्याउन प्रयोग गरी अन्त्यमा फालिएको थियो । राणा शासनकालमा भाषा, धर्म, साहित्य, संस्कृतिको जगेर्ना र विकासको सवाल गम्भीर अपराधसरह थियो । तथापि, दोस्रो विश्वयुद्धताका इमानसिं चेम्जोङ, मुहिगुम अङसीमाङ फाल्गुनन्द लिङ्देन र त्येअङसी सिरीजंगाबाट उल्लेखनीय कार्यहरु भएका छन् । इमानसिं चेम्जोङद्वारा गरिएको इतिहास, भाषा, साहित्यप्रतिको योगदान, लिम्बुवान सुधार संघ, फाल्गुनन्दद्वारा गरिएको किरात धर्मदर्शन, सत्य धर्म मुचुल्का र विभिन्न योगदान, त्येअङसी सिरीजङगा सिंथेबेबाट गरिएको भाषा प्रचारप्रसार र सर्म्बर्द्धनसम्बन्धी योगदान लिम्बु जातिको पहिचान र अस्तित्वसँग जोडिएको छ ।

यही क्रममा श्री ५ महेन्द्रबाट २०२१ सालमा ल्याइएको भूमिसुधार ऐनबाट पर्ूण्ारुपमा लिम्बुवानको किपट प्रथा उन्मुलन गरी लिम्बुवानसँगको सन्धि उल्लंघन गरिएको छ । र, एक जाति, एक भाषा, एक धर्म, एक भेष, एक राज्यको नीतिअनुरुप लिम्बु भाषा, धर्म, संस्कृति, साहित्यप्रति घोर अन्याय गरियो । सोही अवधिमा किरात धर्म तथा साहित्य उत्थान संघ २०३६ सालमा स्थापना भई झिनोरुपमा भाषा, धर्म, साहित्यको कार्य सुरुवात भयो । राज्यले एकाधरुपमा राज्य संयन्त्रमा लिम्बु जातिको प्रतिनिधित्व गराएपनि लिम्बु जातिको पक्षमा कार्य गर्ने वातावरण उपलब्ध गराइएको छैन । २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापनापश्चात् संविधानमा व्याख्या गरिएको बहुजाति, बहुभाषी, बुहसांस्कृतिक नेपालमा सबै जातजातिको भाषा, धर्म, संस्कृतिको विकास कायमै राखी राष्ट्रिय एकतालाई अझ बलियो बनाउने अवसर प्रदान भयो ।

मानव समाज वर्गीय र लैंगिक आधारमा मात्र नभई सांस्कृतिकरुपमा पनि विभाजित छ । नेपाली समाज ब्राम्हण, क्षेत्री, राई, लिम्बु, मगर, गुरुङ आदि जातीय आधारमा सांस्कृतिकरुपले बेगल पहिचान राख्दछ । सोहीअनुरुप आज लिम्बु युवा तथा विद्यार्थीहरु मानव समाजभित्र आफ्नो अस्तित्व र पहिचानको निमित्त संघर्षरत छन् । यद्यपि, नेपाल अधिराज्य मात्र भएको, तर राष्ट्र हुन नसकेको अवस्था छ । नागरिकता वा राहदानीमा नेपाली लेखाउने राज्यको लादिएको नीति छ । सदियौंको गौरवान्वित इतिहास बोक्ने लिम्बु जातिले आफ्नै भूमिमा दोस्रो दर्जाका नागरिकको व्यवहार झेल्नुपर्ने अवस्था छ । युवाहरु व्यावहारिक र वैज्ञानिक शिक्षा लिएर पनि राष्ट्र विकास, एकता कायम गर्नबाट बञ्चित भई लाहुर, मुग्लान र अरबजस्ता ठाउँहरुमा परदेशिनु पर्ने बाध्यता छ । फलतः सांस्कृतिक पहिचानको फैलावट र विकासको साटो सांस्कृतिक विकृति बढ्नुको साथै पश्चिमीकरणले व्यापकता पाएको छ । राज्यको विभेदकारी नीतिका कारण सरकारी र प्रशासन सेवामा लिम्बुहरुको उपस्थिति शुन्य छ । सरकारी कामकाजको भाषा केवल खस नेपाली भाषा मात्र राज्यले परिभाषित गरेको र राज्यले पूर्णतः मौलिक याक्थुङ भाषा बोल्न नसक्ने अवस्थामा पुर्याएको छ । लिम्बु युवाहरुलाई विदेशी सेवामा कार्य गर्ने वातावरण बनाई आर्थिकरुपमा पराधीन तुल्याइएको र लिम्बु समाज विशेषतः कृषि र पशुपालनमा निर्भर भएकोले उनीहरुको जीवनस्तर उकास्न राज्यले वैज्ञानिक कृषि प्रणाली र कार्यक्रम अगाडि नल्याउनुले लिम्बुहरुप्रति राज्यको आर्थिक विभेद नीति रहेको बुझिन्छ ।

सुरुदेखि मुन्धुम निर्देशित किरात धर्म मान्ने आदिवासी किराती लिम्बुहरुलाई पर्ूण्ातः बेवास्ता गरी नेपाल केवल हिन्दूहरुको राज्य भनि संविधानतः हिन्दू अधिराज्य भनेर व्याख्या गरेकोले पनि दोस्रो दर्जाको धर्मावलम्बी भन्ने बुझिन्छ । मृत प्रायः संस्कृत भाषा जो कसैले पनि बोल्दैन अथवा अत्यन्त अव्यावहारिक भाषाका नाममा वर्षोनी करोडौं रुपैयाँ राज्यकोष खर्च गरिनु, तर आफ्नै श्रोत साधनमा प्राथमिक तहको लागि तय गरिएको याक्थुङ भाषाको आनिपान पुस्तक नकामको भनि ताप्लेजुङ जिल्ला शिक्षा कार्यालयले जलाउनुजस्ता आपत्तिजनक राज्यको व्यवहार स्पष्ट छ । लिम्बु मातृभाषीहरु नेपालमा मात्र सन् २००१ को गणनाअनुसार तीन लाख ३३ हजार छ सय ३३ जना रहेका छन् । राज्यको व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाजस्ता संवैधानिक निकाय, निजामति र प्रशासनिक क्षेत्रका निर्णायक तहमा लिम्बु जातिको शुन्य उपस्थितिले राज्यमा शुन्यको हिस्सा पाएको स्पष्ट छ । आज लिम्बु युवा दृष्टिकोणमा भविष्य नेपालमा नदेख्नु र विदेश पलायनको मनस्थितिले पनि नेपाल आफ्नो राष्ट्र भएको महसुस गर्न नसक्नु हो, फलतः नेपाल केवल राज्य मात्र भएको तर व्यवहारिकरुपमा राष्ट्र हुन नसक्नु हो ।

यसरी, जातीय संस्कृतिहरुप्रति राज्यको बेवास्ता र विभेदित नीतिले गर्दा मौलिक पहिचान र चिनारीको संस्कृति संकटमा परेको र पश्चिमीकरणले व्यापकता पाउन सजिलो भएको छ । फलतः पराधीन आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, भाषिक र धार्मिक अवस्था भोग्नु परेको स्पष्ट छ । यसलाई आत्मसात गर्दै २०५५ साल चैत ६ गते त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा विधिवतरुपमा लिम्बु विद्यार्थी मञ्चको स्थापना भएको हो ।

वास्तवमा मौलिक पहिचान र अस्तित्वको विकाससँगै समाज र राष्ट्र समृद्ध बनेको हुन्छ । एकल जातिको राज्य र विकासले सामाजिक द्वन्द्व बढाउँछ । आजको विद्यमान द्वन्द्व शदियौंदेखि नेपाली समाजलाई गरिएको व्यवहारको परिणाम हो । अतः यहाँका हरेक व्यक्ति, समाज, वर्ग, लिंग, जातजाति, सम्प्रदाय, धर्म, भाषा र संस्कृतिले फल्नु, फुल्नु पर्दछ । यसबाट सिंगो नेपाल सम्भ्रान्त बन्दछ, जसको निम्ति समावेशी समाजको निर्माण हुनु पर्दछ । यसको संरचनाबारे स्पष्ट किटान हुनुपर्दछ । हालसम्म गरिएको व्याख्याले एकलाई चोट पुर्याएको छ भने अर्कोलाई खुशी बनाएको छ । तर्सथ, राज्यको व्याख्या सच्याएर सबैलाई समानरुपले सम्मान गरी पुनर्व्याख्या र पुनर्लेखन गर्नुपर्दछ । पुनर्व्याख्यामा सबै जाति, वर्ग, लिंग समावेश हुनुपर्दछ र पुनर्संरचना गर्नुपर्दछ । यसबाट लिम्बु जातिको मौलिक पहिचान गराउने भाषा, धर्म, संस्कृतिको विकास, पुनरुत्थान हुनेछ ।

 
 
 
 
 
लिम्बुवान जातीय स्वायत्तताको औचित्य
डी. बी. आङबुङ
 
खम्बुवान स्वायत्त प्रदेशको आवश्यकता
डा. कृष्णबहादुर भट्टचन
 
जनजातिले चाहेको संघीय लोकतान्त्रिक गणतन्त्र
रविन्द्र थिङ
 
स्पष्ट मागको स्पष्ट अडान
डा. हर्क गुरुङ
 
स्वायत्तताको लागि संघात्मकतामा
डा. कृष्ण भट्टचन

 

kirats.com

 किरात आवाज : मूलघर | हाम्रोबारे | उद्देश्य |
a presentation of Kirat Awaj | Contactus
© 2006 KIRATS.COM, All Rights Reserved , Editor : Nabin Lingden (+ 977-1-98510 39717 )

 
powered by :